तिमीसँग-
मेरो कन्ट्र्याक्ट अफेयर प्रारम्भ भएको दिन
मैले तिमीलाई-
ढोकाको कलशमा आँखा जडेर स्वागत गरें
आज हाम्रो सहयात्राको अन्तिम दिन
मैले तिमीलाई-
उही ढोकाको सँघारमा मुटु बिच्छ्याएर बिदाइ गरें
लागिरह्यो….
कसरी तिमीले
मेरो मुटु कुल्चेर हिॅंड्न सक्यौ होला !
कुनै बेला-
आँखाको बाटो भएर हृदयमा पस्न खोज्दा
यो हृदयले तिमीलाई बारबार हात छेकिरह्यो
आज त्यही ढोकाबाट निस्केर मेरा आँखाबाट तिमी ओझेल पर्दा
तिमीलाई हातले मात्र बिदाइ गर्न सक्यो
लागिरह्यो-
अन द स्पट बाँचिने जिन्दगी
केवल प्रयोग मात्र हो त !
यतिखेर-
कोठाका दराजमा तिम्रा यादहरू
कतै लुगाझैं पट्टिएर बसेका छन्
कतै पुस्तक र्याकमा तिम्रा यादहरू
पुस्तकझैं किनारमात्र देखिएर सजिएका छन्
लागिरह्यो-
जिन्दगीको दराजमा यादहरू
कहिलेसम्म खात लागेर बस्न सक्लान् !
जब यो मन नै केन्द्रबिन्दु भएर
मेरो संसारमा भूकम्प जान्छ;
तब कोठाका दराज र ऱ्याकहरूबाट यादहरू
एक एक गर्दै भुइॅंभरि असरल्ल पोखिॅंदै जान्छ
लाग्यो-
म त आफ्नै यादहरू पनि
कतै सपक्क थन्क्याउन नसक्ने भएछु
र आज भुइॅंभरि असरल्ल यादहरू
खुला आकाशमा स्वतन्त्र उड्न सकून् भनी
उल्ट्याएर भुइॅंलाई नै आकाश बनाइदिएकी छु…
हेलो जिन्दगी !
यतिखेर यादहरू पनि यति सुन्दर बनेका छन् कि
अब मसित रित्तो आकाश मात्र होइन
यादहरूसॅंगै ताराहरूको बरियात पनि हुने छन् !!
हेप्पी जिन्दगी टु मी !
हेप्पी एक्जिस्टेन्स टु मी !!
०००