Last modified on 12 सितम्बर 2024, at 11:10

दासहरूको कुनै देश हुँदैन / मौन आवाज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:10, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अलिकति माटो
र अलिकति आकाश नहुने मान्छे दास हो !

अलिकति चिन्तन
र अलिकति विद्रोह नहुने मान्छे दास हो !

जसको आफ्नो निजी घृणा हुँदैन
जसको आफ्नो निजी प्रेम हुँदैन
त्यो दास हो !

जो अँध्यारोसँग तर्सन्छ
र उज्यालो मागेर यात्रा गर्छ
त्यो दास हो !

जो भोकको लागि आफूलाई बेच्छ
त्यो दास हो !

जसले हाँस्न अनुमति माग्छ
जसले रुन अनुमति माग्छ
त्यो दास हो !

जो हरदम भइरहन्छ आफ्नै छायाँसँग भयभीत
त्यो दास हो !

जसले आफ्नो टाउकोमा बोक्दैन
आफ्नै विचार
र जो आफैँसँग लड्दैन
त्यो दास हो !

जो इशारामा बाँच्छ
त्यो दास हो !

जो तयार छैन मान्छे हुन
त्यो दास हो !

जसले निर्माण गर्दैन प्रतिरोधको हतियार
र गर्दैन आफ्नै कायरतामाथि प्रहार
त्यो दास हो !

जो मौन छ
र जसले चुपचाप स्वीकार गर्छ प्रतिबन्धित जीवन
त्यो दास हो !

जसले आफ्नै सपनाको रक्षा गर्न सक्दैन
त्यो दास हो !

जसको स्वतन्त्र पीडा हुँदैन
त्यो दास हो !

दासहरूको कुनै भूगोल / संस्कृति र सभ्यता हुँदैन ।

किनकि -
दासहरूको कुनै देश हुँदैन !


०००