Last modified on 12 सितम्बर 2024, at 11:30

म त्यहीँ छु / मौन आवाज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:30, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

म कहाँ छु ?
बगेको जस्तो
जमेको जस्तो
शून्यमा आकार भर्दै निर्माण भएको मस्तिष्क
वा / मस्तिष्कमा शून्यता भरिंदै गरेको आकार

च्यापेर हत्यारा साँझको बाटो
पुतली समाउन दौडिरहेको हात
वा / खुट्टा
वा / विश्राम खोज्दै तड्पिरहेका चराका बथानहरू

वा / बाबु आमालाई कतै जान्न भनेर गएको छोरो
कसरी हरायो आफैँभित्र ?

उम्रेका लेउ / सुकेका नदीनालाहरू
घाम र छाँयाहरूको दुर्गमता
स्वप्निल आँखाहरूको यात्रा
र घनघोर वर्षातले पखाल्दै लगेका यादहरू !

जहाँसम्म जीवित थियो
त्यो समय त्यसैगरी बित्यो
र त्यहाँसम्म
मैले राखेको जस्तो लागेको थियो आफ्नो विगत !

गएको जस्तो पनि लागेको छ
आएको जस्तो पनि लागेको छ
विडम्बना -
मसँग सुरक्षित छैन रहेछ आफ्नै स्मृति !

हो जस्तो
हो जस्तो
होइन जस्तो
होइन जस्तो

त्यो त्यही ठाउँ हो जहाँ अहिले पनि म प्रतीक्षामा छु ।
त्यो चौतारो त्यहीँ उपस्थित छ
त्यो वैचेनी त्यहीँ उपस्थित छ
त्यो एक्लोपन त्यहीँ उपस्थित छ ।

म त्यहीँ छु
जहाँ पहिला थिएँ !
यो सबै तिमीलाई थाहा छ ।

घरहरूले ढोका खोल्न बन्द गरेपछि
झ्यालहरूबाट निस्कँदै गर्दा
वा / अँध्यारोमा हामी रुँदै गर्दा
जसरी अँगालोमा बाँकी थियो ढुकढुकी !

म त्यहीँ छु
जहाँ भयले त्रासलाई निलिरहन्छ ।
म त्यहीँ छु
जहाँ घृणाले प्रेम निलिरहन्छ ।
म त्यहीँ छु
जहाँ अहिले केहि छैन ।

म त्यहीँ छु
जहाँ सँधै तिमी आउँथ्यौ र जान्थ्यौ !

भन्नेहरूले यही भन्छन् -
म त्यहीँ छु भन्छन् हिँडिरहने बटुवाहरूले
म त्यहीँ छु भन्छन् तिमीलाई चिनेका तिम्रा आफन्तहरूले
म त्यहीँ छु भन्छन् रमिता हेर्ने मानीसहरूले
म त्यहीँ छु भन्छन् ढुङ्गाका ईश्वरहरूले !

म त्यहीँ छु
जहाँ तिमी मलाई भेट्न आउँथ्यौ
र म तिम्रो प्रतीक्षामा देउराली झैं उभिरहन्थेँ ।

म त्यहीं छु
जहाँ अहिले झरेका पातहरू छन्
छुटेका साथहरू छन् ।

हो
म त्यहीँ छु ।
जहाँ समाप्त हुन्छ घृणाको सिमाना
र शुरु हुन्छ प्रेमको भूगोल !

०००