पोहोर साल पनि
यसरी नै पलाएका थिए पातहरू
यी अङ्गुरका बोटहरूमा
गर्मीको पट्यारलाग्दो
सन्नाटामा
लहलहाउँदा पातहरू
सुनसान थिए
चुपचाप थिए
अलिकति हावा
अलिकति शीतलताको खोजीमा
त्यहाँ तिमी थियौ
त्यहाँ म थिएँ
“प्रकृतिको भाषा थाहा छ ?”
तिमीले सोध्यौ
“तिमीलाई थाहा भए
पातहरूको
यो मौनता भङ्ग गर न त”
मैले भनेँ
तिमीले अनायास
अनौठो पाराले सुसेल्न थाल्यौ
म त छक्क परेँ
अङ्गुरका पातहरू अचानक
हावामा लहराउन थाले
खुसी र आश्चर्यले
मैले तिमीलाई
निक्कैबेर हेरिरहेँ
टोलाउदै हेरिरहेँ
यो सालको
चर्को गर्मीमा
यी अङ्गुरका झ्याङ्हरू मुनि
अमूर्त सम्झनाको कोलाजमा
यतिबेला
म एक्लै छु
अचम्म !
पोहोर सालको
तिम्रै सुसेली
अनायास सुसेल्दा
यी चुपचाप पातहरू
फेरि त्यसरी नै लहराए
फेरि त्यसरी नै सल्बलाए
शरीरमा आएको
यो अनौठो कम्पन
यो मीठो शीतलता
के तिमी नै होइनौ ?
•