Last modified on 15 अप्रैल 2020, at 11:45

अनुभूति / गीता त्रिपाठी

हिँड्दा-हिँड्दै
दोबाटोहरूमा, चौबाटाहरूमा
जब पातहरू पहेँलिएर खस्दै आइपुग्छन् खुट्टानेर
मेरा उमेरहरू ठिङ्ग रुख भएर
उभिन्छन् सामुन्नेमा
 
खाल्टाखुल्टी परेका सडकमाझ
पैतालाहरू खिइएर
छोट्टिँदै जान्छ यात्रा
नाप्दै घडी-पलाहरू
मेरा आकांक्षाहरू खोपिल्टा पर्दै जान्छन्
त्यसबेला
हिँउ-केशहरूको सीमानेर उभिएर
जीवनको झण्डा गाड्छ समयले
 
मलाई जीवनको साँधमा
पर्खाल उभ्याउन मन छैन
भित्तामा किला-काँटाहरू ठोकेर
समयलाई अट्काउन मन छैन
निरन्तर बगिरहन चाहन्छु म
मलाई सुईहरूमा
स्थिर अस्तित्व खोज्न मन छैन
 
देखिरहेछु
मृत्युवरण गरिएका जीवनहरू
आँखाभरि मृत्यु बोकेर भागिरहेछन्
पाइलाभरि मृत्यु बोकेर दौडिरहेछन्
असुरक्षित सुरक्षाको खोजीमा
मृत्युले नै पहरा दिइरहेछ
 
मृत्युको पहरा तोडेर म
जीवनको उपहास बाँच्न चाहन्न
समयको लास बोकेर
मृत्यु-मय श्वास फेर्न चाहन्न।