लेख्नु छ कविता र कवितामा लेख्नु छ–
देश, आशा, मान्छे र अरु धेरै धेरै कुराहरू।
‘पीडाको अभिव्यक्ति थुपारेर रोदन र क्रन्दन नलेख्नू
वर्तमानलाई धारे हात लगाएर निराश भविष्य नलेख्नू
सके नयाँ लेख्नू बरु लेख्दै नलेख्नू‘
सम्झन्छु साथीभाइका चेतावनी।
‘मुक्त छैनन् कुनै कवि– भूपीबाट/रिमालबाट
सबैको राग उस्तै छ– मोनोटोनस‘
सुन्छु समालोचकहरूको गर्जन।
हेर्छु– तराईमा यथावत् छ भुसको आगो
आलस्य झोक्राइरहेछ लेखिन नसकेको देशको संविधान
भ्रष्टाचारका नयाँ नयाँ संस्करणहरू
भोगिरहेछ देश बिलखबन्दमा।
उठाएकै हो आवाज– एक डङ्गुर बेथितिहरूका विरुद्धमा
ठड्याएकै हो औँला– असङ्ख्य बेमेलहरूको प्रतिपक्षमा
परिणाम–?
भोगिरहेकै छन् देश र देशका मान्छे एकसाथ।
मेरो देशको नायक
दिनभरि कवितालाई ओठे प्रेम गर्छ
र हरेक साँझ ट्वाइलेट पेपर बनाउँछ
सके ओच्छ्याउँछ आफ्नै बिस्तरामा
थाहा छैन–
र पनि किन लेखिरहन्छ कवि कविता ?
यस्तै ओठभक्तिमा,
सबै कविताका पक्षमा उभिएको मौका पारेर आज
मलाई कविताका विपक्षमा उभिन मन लागेको छ
र सिङ्गो विसङ्गत देशको क्यानभासभरि
फेरि कहिल्यै कसैले बगाउनु नपर्ने सर्तमा
आफ्नै रगतले एउटा
अन्तिम कविता लेख्न मन लागेको छ।