Last modified on 20 अगस्त 2016, at 22:05

अन्तिम तयारी / दिनेश अधिकारी

रात आज तँ सुत
म जाग्राम बस्छु !
 
आज म अँध्यारो खेल्छु
आज म चकमन्नता बोल्छु
आज म नीरवता सुमसुम्याउँछु
 
हेर्नु छ
मलाई छोप्न नपाउँदा सिरक आज कसरी छट्पटाउँछ
मेरो बोझ बिना डस्नाले यो समय कसरी कटाउँछ
मैले आँसु नबगाउँदा यो तकिया आज कसरी निदाउँछ
 
किरणको पहिलो झुल्कोमा
इन्द्रेणी बनेको शीत धेरै पटक देखेको छु
क-कसको चेपुवामा परेर
मक्मकाउँदै कसरी आँसु काड्दोरहेछ आकाशले
आज त्यो पनि हेर्छु
कसले, कसरी थिच्दोरहेछ फूलको घाँटी
र, त्यत्ति राम्रा रुपका सिर्जनाहरु
बोल्न नपाएरै मर्नुपर्ने नियती भोग्दारहेछन्
बिरालो चालमा
आज म त्यसको पनि सुराकी गर्छु
 
आँखा झमिक्क नगरेर
यो समयलाई पूरापूर दुहुन चाहन्छु म आज
सुँघ्न चाहन्छु षडयन्त्रको गन्ध
र, जालझेलको कानेखुसी पनि सुन्न चाहन्छु
कुन सड्को कसले पोत्दोरहेछ
उज्यालो खोज्ने आँखामा
घिनलाग्दो कचेरा
किचकन्ने शैलीमा
आज म त्यसको पनि रहस्य पहिल्याएरै छोड्छु
 
धेरै चोटि उज्यालोमा लुटिएको म
फेरि लुटिन चाहन्न
पुगिसकेर पनि धेरै ठाऊँमा छुटेको म
पराजित आफ्नो बिगतलाई
फेरि दोहोर्या्उन चाहन्न
भालेको डाक अगाडि नै
तिखार्छु आफ्ना दृष्टिहरुलाई
र, मनका खुँडा- खुकुरीहरुमा
झरझराउँदो पाइन हाल्छु
भोलिको घाम झुल्किनु अगाडि नै
सबै सबै कपट बिरुद्ध जुध्न सक्ने गरी
म आफूलाई तम्तयार पार्छु
 
रात, आज तँ सुत
म जाग्राम बस्छु !