Last modified on 15 फ़रवरी 2022, at 20:22

अन्तिम रात / खुमनारायण पौडेल

तिम्रो प्रस्थानपछि
जूनले कतै बिसाउनेछ आफूलाई
घामले उम्रिन बिर्सिने छ क्षितिजमा
अँध्यारो झन् अँध्यारोभित्र
साउती मात्र गर्नेछन् चराहरू
शोकाकुल पहाडहरूमाझ
बग्नेछ निशब्द एउटा नीरनदी
तिम्रो प्रस्थानपछि
तिम्रो प्रस्थानपछि
कोठाका हरेक भित्तामा
टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू
सोफा, मेच र पलङहरूमा
लम्पसार पर्नेछ गहन रिक्तता
कोठाको हरेका कुनाबाट
चियाउनेछ मौनताको निरीह अनुहार
तिम्रो प्रस्थानपछि
अडिने छैनन् आँखा
पुस्तकका पानाहरूमा
देह, सडक-घर, घर-सडक गर्ने
एउटा सटलबस बन्नेछ
मनभरि बास बस्नेछ एउटै उदास ऋतु
झर्नेछन् इच्छाहरू भईभरि
र्झछन् जसरी-
शरदमा म्यापलका पातहरू
अडिनेछन् घडीका सुइहरू
दिक् र काल निर्वासित हुनेछन्
तिम्रो प्रस्थानपछि !