रोक कोही रोक्न खोज,
यो महाघनघोर आँधी
हेर तूफानी उपद्रो वेग हावामा बढेको!
हेर विश्व डगमगाई गडगडाहट उर्लिएको !
हेर सनसन मात्तिएको ली हुरीले अन्धवेग |
हेर हुँडली स्थिति गएको नचल्ने स्थिर डेग ?
छौ कुन साहस भिरेका
वीर बलवान् शक्तिवाला?
अघि बढी संहार थाम
हेर जीवन थाम चाला !
रूख, छाना, पथ, लतादि सब बढारी
टिक्न नदिई सामु केही त्राहि त्राहि जीव पारीे
हेर आँधीब्यारी आई लग्न लाग्यो सब उडाई
हेर यो उल्का बढेर खान लाग्यो सकललाई ।
ए, कुन छो ता थमाऊ
यो प्रकृतिको कोप-ज्वाला!
नत्र त निमिट्यान्न पारी
नाशले सब चीज खाला।
यो अलच्छिन, छ आँधी पीर बाधाको अनादि
रोक्नलाई बढ्न मानिस, यो हुरी मात्तिन्छ ज्यादी!
कति परिश्रम, कात पसीना, कति गरेको सिर्जना यो
बाग महल र शहर राम्रो यो हुरीले लान लाग्यो।
सक्तछौ, भन सक्तछो के
किन त्यसै लाचार बस्छौ।
अन्धभक्त बनेर मानिस
किन दबीकन भिन्न पस्छौ ?
हा! समयको बाधा रोक्ने छैन रे, छन् युक्तिवाला
सब हुँदा लाचार रे'छन् प्रलयको डरमा हवाला
के तिमी उपकार गर्ने ? के तिमी स्याहार गर्ने ?
खालि फोस्रो धाक रे'छ बल र तागत के रहेछ !
लड्न आँधीसित गएर
विजयसाथ डटी अगाडि
यो अशान्ति रोक मानिस
शाति पारी शान गाडी !