Last modified on 8 सितम्बर 2024, at 19:08

आगो, भ्रान्ति र समय / विमल वैद्य

समयले छाडे छाडोस मलाई
जीवनको यहि विन्दुवाट
आस्था घोप्ट्याएर आँगनमा
मान्छेहरु मुकदर्शक
ताली बजाइरहेको समय
म दर्शक दिर्घामा बसेर रमाउन सक्दिनँ
विश्वासको सीमान्त कुनामा
माकुरोले जालो बुन्दैछ
मेरो सत्य त्यही कुनामा
ढुसी पलाएर ऐँजेरु बन्दैछ
फूलपाती र अविरले
पूज्ने यो समय
भगवानहरु खोलाका तीरमा
ढुङ्गा वनेर फालिएका छन्
विगत सपनाहरुलाई
स्मृतीमा गाँसेर
जीवन वनाउने मेरो अभिष्ट
आधारातको एैठन वनेर
मुर्च्छावाट विउँझन खोज्छ
कहाँ हो लक्ष्य
कतो विश्राम
भ्रान्ती र केवल भ्रान्ती ओढेर
आकाशवाट खसीरहेको
तारको उज्यालोमा
वाटो ठम्याउँदैछन्
एक हुल लाटोकोसेराहरु
मर्च्छना जिन्दगीको
गीतका हरफहरु भेटेर
कोइली गीत गाउँ आतुर छ
घरमा आमा र घरबुढीहरु
चुल्हो भत्काएर
आगो जोड्ने शुरमा छन्
समयले छाडे छाडोस मलाई
जीवनको यही विन्दुवाट
म त्यही आगोको
फिलिङ्गो पर्खी बसेको छु ।


०००