Last modified on 21 मई 2017, at 17:38

आमाको वेदना / गोपालप्रसाद रिमाल

रात अज्ञानझैँ अँध्यारो थियो,
स्वर्थजस्तै चिसो बतासको हुरी थियो,
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो,
कुचि्रँदाकुचि्रँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झलिक्क भो।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!


अनि एक झसमिसे बिहान,
जब सूर्यले आफ्नो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए-
मलाई मीठो थाहा भयो।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो,
आशाको साउने भेल पोखिदियो,
मेरो खुट्टा भुइँमा रहेन।
साथसाथै त्यस आगाको आहारा भएर बेहि्रनुपरेकाले
म संसारको निम्ति
पलमा देखिने पलमा हराउँने
बिजुलीझैँ भएँ।


त्यसले रूप पाउन थाल्यो,
घाम-जून, जल-थल, आकाश-समीर सबले
त्यसको स्याहारमा सगाइदिए।
कैयौँचोटि थाहा पाएँ।
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ।


त्यो जन्म्यो।
मैले थाहा पाएँ, संसारमा किन फूल फुल्दछन् !
त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो।
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउँने
झोलुङ्गे गीत मलाई सिकाइदिए।
त्यो हुर्क्यो।


म आमाको आशिष्
आकाशजत्तिकै प्रशस्त छ-
उता जीवनको औँसीमा कल्पित त्यो आगाको झल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ।
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रहीरही चिच्याइरहेछ।
के त्यो भनेजस्तो होला !!