आउनू र जगाइदिनू
आशङ्कित आलस्यको गर्भबाट
आतङ्कित बिहानलाई
शताब्दीऔँदेखि
पर्खाइमा छ यो बिहान,
अँगालोभरि पारदर्शी उज्यालो
नभए सुतिबस्छ दिनको आरम्भ ।
गाउनुपर्ने कैयौँ मसिना गीतहरू
गाइरहेका छैनन् हृदयका चराहरूले
समयले ठुँगेका हाँगाहरूमा
उमङ्गको कुनै प्वाँख पलाउन भ्याएकै छैन ।
बिउँझिँदै गरेको यो घडी
सहर्ष उचालिदिएपछि उत्साहका हत्केलाले
बाफिँदै बर्सिएला समय,
रित्तिएरै भरिएलान् खुसीहरू।
आलस्यका हुस्सुबाट निस्किएर
चराको प्वाँखजस्तो
सुकोमल ब्यूँझिदिए बिहान
आरम्भ होला एउटा उज्यालो दिन र,
दिनजस्तै सुनौलो जीवन!