सजिलो बाटोमा हिँड्दा-हिँड्दै कुनै घुम्तीमा पुगेर
अपर्झट सम्झिनु बिर्सेको कुने कुरा
अथवा बिर्सिदिनु सम्झिँदै गइरहेको कुनै कुरा
म टक्क अडिनु एकाएक अनि हराइरहनु आफैँभरि
पीडित हुनु आफ्नै दुर्बलताले केही क्षण
यस्ता दिन जिन्दगीमा आउँदै आएनन् त कसरी भनूँ
तर ती बितेका दिन थिए
मलाई विश्वास भइसकेको छ आज
मैले उज्यालोको स्पर्श पाइसकेको छु ।
किरण-दूतले मेरो ढोका उघारेर मलाई सोधेको थियो-
तँलाई के चाहिन्छ ?
मैले दुई हात अघि बढाउँदै कर्म मागेँ
उसले तथास्तु भनिदियो र आश्वस्त छु
अब आउने दिनहरु उज्याला हुनेछन्
अनि हामी उज्यालो दिन ल्याइछोड्ने किरिया खाइरहेछौं ।
लौ शङ्ख फुक ए मन्दिरका पुजारीहरु !
लौ मङ्गल गीत गाऊ ए माङ्गलिकहरु !!
आजको यो शुभ मुहूर्तमा ।