Last modified on 12 मई 2020, at 01:21

इच्छा / दुर्गालाल श्रेष्ठ

फूलसँगै खेलूँखेलूँ
लाग्छ मिलेर,
रमूँरमूँ लाग्छ मलाई
सँगै झुलेर !

फुलूँफुलूँ लाग्छ मलाई
फूलै भएर,
डुलूँ डुलूँ सुगन्धको
यान चढेर !

दिनरात काँडालाई
साथ लिएर,
घाम-पानी, आँधी-हुरी
सबै पिएर !

हाँसो लिई, अरुलाई
हाँसै दिएर,
जाऊँजाऊँ लाग्छ जुनी
चोखो जिएर !