Last modified on 28 जुलाई 2020, at 14:33

ईश्वरको अनुहार / सुदीप पाख्रिन

एकाबिहानै
डाँडामा टाउको अडेस लाएर
उसको मुस्कान पैँचो लिएर
मुस्कुराउँछ— फूच्चे घाम

जीवनजस्ता हाँगाहरुमा
फत्र्याक... र फुत्रुक... उफ्रँदै
उसकै ध्वनी उधारो माँगेर
चहचहाउँछ — यी सुरिला चराहरु

सुन्दरी तरुनीका कानहरुमा यार्लिङ्ग भई
बिहानीका शीतका थोपाहरुझैँ टल्कन्छन्
अरुकै दुःख रोइरहेका — उसकै आँशुहरु

भूइँ नै पावन बनाउँदै
साना बच्चाका खुशीहरुझैँ
उनकै ओंठबाट खिल्खिलाउँदै झर्छन् — मुस्कानका गुलाफहरु

प्रत्येक साँझ
उनकै आभा बोकेर
लजालु यो जून टल्किने गर्दछ

यो उनी नै हुन्
जसको समीप भई गुज्रिए मात्रै भने पनि
यूद्धग्रस्त क्षेत्रको बन्दुक बोकाइएको
एक अबोध बालकले
कमाण्डरको आँखा छलेर
मनको खोकिलामा कतैँ
रातो गुलाफ सुटुक्क राख्ने गर्दछ

ठ्याक्कै...
यूद्धको जस्तो अनुहार भएको
यो समयमा
ईश्वरकै जस्तो अनुहार भएको
यो अनुहार कसको हो, हँ ?