प्रत्येक झिसमिसेमा
निस्कन्थ्यो एउटा तेजस्वी सूर्य
हाम्रो अँगेनाबाट
र धुवाँको आतङ्क निलेर
बिउँझाउँथ्यो घरको दैलो, दलान र कौसीहरू
गाउँलेहरू भन्थे- बाबु भएर पनि आमाजस्तै छ ऊ
गुरु भएर पनि बाबुजस्तै छ ऊ
उसको वरिपरि हुँदा रात कहिल्यै अँध्यारो भएन हामीलाई
जङ्गल कहिल्यै बिरानो भएन हामीलाई
हाम्रो आकांक्षाको लम्बाइ नापेर
हाम्रो बाल्यकालको मुरलीमा भविष्यको सिँढी खोप्थ्यो ऊ
उसको निकटतामा
मनबाट लखेटिन्थे उकुसमुकुसहरू
आँखाबाट ओझेल पर्थे अन्योलहरू
किरणले नुहाएको गाईगोठमा
बग्थ्यो स्नेहको दुधकोसी र
भरिन्थ्यो एकाबिहानै चियाका कप भरी
एक अनुहार उज्यालो
धोइदिएर उज्यालोले
बसाउँथ्यो अँगेनाछेऊको आसनमा हामीलाई
र सेकिदिन्थ्यो
रातले ओस्याएका आँखाहरू
ऊ रातमा पनि हाम्रो छेवैमा सुत्थ्यो
हाम्रो ऐठनमा पिरोलिएर
हामीसँगै उठ्थ्यो
र मिलाउँथ्यो उज्यालोको तारतम्य
पश्चिम फर्केको उसको कोठा
एउटा सिङ्गो आकाश थियो
चेतनाको अन्तरिक्षमा
फहराइरहन्थे उसको एकजोर परिचय-
आकाशे रङको कमिज र निलो रङको पेन्ट
प्रत्येक बिहानीको नौबजे
ऊ किशोर घाम भएर
स्कुल जाने बाटोमा छरिन्थ्यो
उसबाट फैलिएको प्रकाशले
पाठशाला र घर,
मन्दिर र खेत,
गाउँ र बेँसी सबैतिर उस्तै आभा फिँजाएको हुन्थ्यो
कहिले लालटिन बल्थ्यो
कहिले टुकी बल्थ्यो ऊ
ऊ कहिल्यै बिजुलीबत्ती बलेन
बल्थ्यो त सधैँ ओजस्वी सूर्य बल्थ्यो
विश्वास नलागे हेर्नुहोस् :
ऊ अझै पनि बलिरहेछ
नानीहरूका आँखाबाट
गाउँमा, सहरमा
स्वदेशमा, विदेशमा
मन्त्रजस्तै छोएर उसको नाम
समय नयाँ दिन भएर कुदिरहेछ
स्कुल जाने त्यो जङ्गलको बाटोमा
गुराँसै गुराँस फुलेको छ ऊ
छेडेर घना ओसका पर्दा
प्रकाशै प्रकाश डुलेको छ ऊ
ननिभ्ने महाबत्ती ऊ
प्रत्येक साँझको आरतिले कुरिरहन्छ उसलाई
प्रत्येक बिहानको बाटोले पर्खिरहन्छ उसलाई
ऊ बिऊ पनि हो
विरुवा पनि हो
ऊ रुख हो र
ऊ छायाँ पनि हो,
ऊ ऊ हो, जो नभएर पनि भइरहेछ
दिवंगत समयको सहयात्री
ऊ अर्थात्
मास्टरबाजे !