हामीमध्ये एउटा मानिस
ऐनाझैँ बाँच्दछ
र ऐनाझैँ मर्दछ
हामीमध्ये एउटा मानिस ।
एक निश्चित बिन्दुबाट सुरु हुन्छ जिन्दगी
ऐनाको
सपाट चिप्लो जड प्रकाशहीन ऐनाको छाती
हरदम प्रतीक्षा गरिरहन्छ उज्यालो
मानौँ ऐना उज्यालाको सातै जुनीको व्याकुल प्रेमी हो ।
तर
कतै दूर क्षितिजबाट
या नजिक सल्किरहेको टुकीबाट
जब ऐनाको अँगालामा बाँधिन आइपुग्छ उज्यालो
उज्यालालाई ह्दयमा बाँध्नाको सट्टा
कमसेकम एक टुक्रा उज्यालो साँच्नाको सट्टा
कुनै निष्ठुर प्रेमीको भाँती
उज्यालालाई मिल्काइदिन्छ ऐना
ह्दयमा पस्नै नदिई उज्यालालाई परावर्तन गरिदिन्छ ऐना
जब हराउँछ उज्यालो
सपाट चिप्लो जड प्रकाशहीन ऐनाको छाती
पर्खिन थाल्छ फेरि व्याकुल प्रेमीझैँ उज्यालो।
हामीमध्ये एउटा मानिस
यसरी नै ऐनाझैँ बाँच्दछ
यसरी नै ऐनाझैँ मर्दछ
हामीमध्येएउटा मानिस ।
प्रभातको मलिन किरण होस्
या पूर्णिमाको शीतल जून
ऐनाको ह्दयमा कुनै उमङ्ग फुल्दैन
झरिरहेको झर्ना, बगिरहेको नदी
खेलिरहेका नानीहरू, गाइरहेका चराहरू
ऐनाको ह्दयमा कुनै झङ्कार हुन्न
दृश्य सिर्फ फाल्नाका निम्ति हो।
रगतले लतपतिएको सडकको दृश्य
सडकमा लडिरहेको जुलुसको आक्रोश
हामीमध्ये त्यस मानिसको ह्दयमा कुनै परिवर्तन हुन्न
भाउ बढेको रेडियोको समाचार
या आफै उभिएको भूगोल, च्यातिएको खबर
त्यस मानिसको छातीमा कुनै आगो सल्किन्न
खबर सिर्फ चर्चाका निम्ति हो ।
कुरूप चेहराहरू जाऊ
र हेर आफ्ना अनुहारका खतहरू ऐनामा
सुन्दर अनुहारहरू जाऊ
र रमाऊ ऐनामा हेरेर आफ्नै प्रतिविम्ब
ऐना न कुरूपलाई घृणा गर्छ
न सुन्दरतालाई बाँधेर आफै सुन्दर हुने चेष्टा गर्छ
दृश्य सिर्फ फाल्नाका निम्ति हो ।
सुन्दर सही विचारहरू जाऊ
र अँगालो हाल्ने प्रयास गर त्यस मानिसलाई
परिवर्तनका महान् सम्भावनाहरू जाऊ
र उज्यालो छर त्यस मानिसका चारैतिर
तर त्यो मानिस
न खराब बन्छ
न सम्भावनामा बाँधिएर कुनै फड्को मार्छ
सिर्फ खराब बन्न नसकेर
असल चिजको चर्चा गर्छ, सिर्फ गर्छ
एक राम्रो ढाँचामा बनेको कुनै ऐनाझैँ
सब चिज परावर्तन मात्रै गरिरहन्छ ।
हामीमध्ये एउटा मानिस यसरी नै ऐनाझैँ बाँच्दछ
यसरी नै ऐनाझैँ मर्दछ
हामीमध्ये एउटा मानिस ।
ऐनाझैँ बाँचिरहेको
हामीमध्येको एउटा मानिस
जसरी रुन सिकाउँछ अरूलाई
त्यसरी आफू रुँदैन
जसरी हाँस्न सिकाउँछ अरूलाई
त्यसरी आफू हाँस्दैन
जसरी बाँच्न सिकाउँछ सबैलाई
आफू त्यसरी बाँच्दैन
जसरी सही सुन्दर सुरुवात गर्न सिकाउँछ सबैलाई
तर आफै ऊ कहिल्यै सुरुवात गर्दैन
जसरी फेर्न र फेरिने ज्ञानको सागर बाँड्छ सधैँ
त्यसरी ऊ कहिल्यै आफूलाई फेर्दैन
ऊ यसरी पर्खिन्छ आफूमा परिवर्तन
कि पर्खिंदा पर्खिंदै ऊ बूढो हुन्छ ।
हामीमध्येको एउटा मानिस
जे–जे ठोकिन्छ उसको मस्तिष्कमा
सबै परावर्तन गर्छ
बदल्ने जिम्मा सब अरूलाई बाँडेर
आफू जीवनमा फड्को नमारीकनै कतै अड्किन्छ ।
हामीमध्येको एउटा मानिस ऐनाझैँ बाँच्दछ
ऐनाझैँ मर्दछ ।
यताउता घुमिरहने
हामीमध्येको त्यो एउटा मानिस
कहीँ तपाईं आफै त होइन ?