Last modified on 15 अप्रैल 2020, at 16:08

कंकट / गीता त्रिपाठी

माटो हो भनेर जान्दाजान्दै
तिमीले मलाई गजगजी मुछ्यौ
र आकार दिने बहानामा
गीलो बनाएर छाड्यौ ।
 
फेरि सुकाएर बगरमा
पर्खिरहेहझैँ गर्‍यौ आगतलाई
सुन्दै नसुनेझैँ मेरो आह्वान
बल्ल त्यसबेला फर्कियौ,
जबसम्म म सुकेर
कट्कट्टिसकेको थिएँ
 
मसँगै मिसिइसकेका थिए,
-बालुवाहहरू
-ढुङ्गाहरू
-सुकेका पातहरू
-काँढाहरू
 
पर उभिएर हेरिरहेछौ,
भो ! बन्द गर तिम्रा खडेरी-आँखाहरू,
मेरो कङ्कट अनुभूतिमा
रसाएर तिम्रो मृगतृष्णा
फेरि कहिल्यै
पानी हुनसक्दैन अब ।