Last modified on 9 सितम्बर 2024, at 13:47

कविको आत्मा / मोमिला

ईश्वरको जस्तो
मेरो अनुपस्थित उपस्थिति
मेरा रचनाहरुमा
मानौं
महाशून्यमा निर्वासित
सृष्टिको प्रथम फूल
मैले सुरक्षित राख्नु छ
म मेरो जीवनप्रति आभारी छु

जसले बाँचेको आभासमा
हर सूर्याेदयलाई अभिवादन अर्पन्छ
मानौं
आत्माको विस्तारमा
सृष्टिको अन्तिम फूल
मलाई नै उपहार मिलेको छ

केरमेट सपनाका भग्नावशेषबीच
सृष्टिको साराँश
मेरा कविताहरुमा
मानौं
हुलमुलमा जीउ जोगाएर
अनिकालमा बिउ जोगाउन
मलाई आदेश मिलेको छ

अमरत्वपीडा
देवताको निजी मामला
आज मेरो कवितामा परावर्तित छ
मानौँ
अमरत्वपीडाको
राकरस्त विस्तारमा
हर कविको आत्मा सामेल छ
………………………..
मानौँ
महाशून्यमा निर्वासित
सृष्टिको प्रथम फूल
मैले सुरक्षित राख्नु छ

०००