कवि नभएको भए
मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ
वा पागलपनका अन्तिम सीमानाहरुमा
ईश्वरलाई गीत सुनाइरहेको हुने थिएँ !
प्रिय भावकहरु
तपाईंहरुझैं आम मान्छे बन्नलाई
मैले दुबै बाटाहरु त्यागिदिएँ
कवि नभएको भए
मेरो आत्माको एउटा बन्द ढोका
जीवनभरी कहिल्यै खुल्ने थिएन
मेरो आँखा हजारौं सपनाहरु जेल बस्ने
पागलखाना बन्ने थियो
मेरो हृदयमा प्रेमको धून यसरि बज्ने थिएन
मेरो खुट्टामा यात्राको यति लामो नदि बग्ने थिएन
म जीवनको क्रुरतासंग पराजित भएर
क्रुरतालाई प्रेममा बदल्न असमर्थ हुने थिएँ
म समयको हमालसँग भयभित भएर
समयलाई गीत बनाएर गाउन असमर्थ हुने थिएँ
पीडा र अभावका रङ्गहरुलाई
सबैभन्दा सजीव पेंटिंग बनाउन असमर्थ हुने थिएँ
पाउना बस्न आउने स-साना खुसीहरूलाई
धन्यबादसम्म भन्न सक्ने थिईनँ
छिनालेर हृदयका असंख्य जराहरु
कुनै अपराधीझैं
मा उभिएको हुने थिएँ – जीवनको छेउमा
सबेरै
एउटा प्रिय पागलपनको सुर्यास्त हुने थियो
न ईश्वरलाई मनपरी गालि गर्न सक्थें
न मानिसहरुलाई यतिबिध्न माया गर्न सक्थें
कवि नभएको भए
मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ
वा पागलपनका अन्तिम सीमानाहरुमा
ईश्वरलाई गीत सुनाइरहेको हुने थिएँ !