Last modified on 7 सितम्बर 2024, at 21:25

काखले बोलाउँछ / कुन्दन शर्मा

ए मेरा सन्तान !
मेरो सिर्जना !

कति सजिलैसित भनिदियौ तिमीले
तिम्रो जीवनमा
मेरो कुनै हक छैन, दखल छैन
तिमीलाई जन्म दिदैमा
मेरो अधिकार तिमीमा
जन्मसिद्ध हुँदैन ।

म मौन भएँ
व्यथाले स्तब्ध थिएँ
अनुभूतिको चरम सीमा
मूक हुँदो रहेछ ।
आँखाअगाडि एकैछिनमा
सम्पूर्ण जीवन नाच्न थाल्यो ।

यो गर्भमा,
तिमी टुसाएको, फक्रेको, अनुभूति
तिमीलाई जन्माउँदा, हुर्काउँदा
पाएको आनन्दमय पीडा
अनि ठूलठूलो दु:खलाई
ससानो सन्तोषले छलेर
सँगै बाँचेका ती क्षण ।

कति निर्ममतासित
पुछन खोज्यौ तिमीले
मेरो सम्झनामा छरिएका
तिम्रा पैतालाका छापहरु ।

के साँच्चै
तिमी-हामीबीच केही छैन त ?
सम्पर्ण जीवन तिमीलाई दिएर
उभिएकी छु आज म रित्तिएर
कुनै सुद व्याज मागेको हैन
सम्बन्ध व्यापार हुँदैन
खालि मनको गाँठो यो
फुकाले पनि, बाँधे पनि
आफ्नै इच्छा त हो ।
 
उमेरले थिचेर कुप्रिएकी छु आज म
कति निर्धो भइसकेकी छु म आज
तिम्रो हात समातेर
फगत बाँच्ने ताकत खोज्दै छु, आज म ।

तिमी बालक थियौ मेरो कुनै बेला
म पनि शिशुझैँ भएकी छु
तर तिमी अनाथ थिएनौ मकहाँ
म किन यसरी टुहरिएँ ?
तिमी छंदाछदै पनि
आफ्नै भावनामा ।

जीवन बाटुलो बाटो रहेछ
जहाँबाट हिँडे पनि
अन्तत: त्यहीँ पुगिदो रहेछ ।

ए मेरा सन्तान ।
मेरो सिर्जना ।
मेरो काखले बोलाउँछ तिमीलाई
तिमी हुर्केका थियौ जीवन पाई जहाँ
एउटा काख चाहिएको छ मलाई
मन, केवल मर्न सम्मानका साथ त्यहा ।