काठमाण्डू छिरेपछि स्वंय काठमाण्डू बन्न खोज्छ मान्छे ।
चोभार थुनेर पौडिन खोज्छ, सक्तैन
महाराज बन्न खोज्छ, बन्दैन
मन्दिर देखेपिच्छे देवता हुन खोज्छ, हुँदैन
आफूमाथिको आकास हेर्छ, टेकेको जमिन हेर्दैन
विक्षिप्त हुन्छ र काठमाण्डूको नाकैमा उभिएर
गर्छ सत्तो सराप ।
आफ्नो उचाइ नाप्छ धराहरासँग
रानीपोखरीमा आफ्नो गहिराई खोज्छ
यहाँका अनगिन्ती साँघुरा गल्लीभन्दा पनि असरल्ल
आफ्नै सपनाका खोचमा चेपिएपछि
काठमाण्डुकै छातीमाथि पलेँटी कसेर
कुख्यात अपराधीलाई झैँ
काठमाण्डुलाई नै गाली गर्छ नव–काठमाण्डू ।
काठमाण्डू
आँखीझ्यालबाट ब्यूँझने सूर्योदयसँगै
आफूलाई चियाउँछ
गल्लीभरि देउदेउता हिँडेको देखेपछि
गजक्क पर्दै स्वयंभूबाट गुन्गुनाउँछ ओम मेने पेमे हुँ
पशुपतिबाट शंखघण्ट बजाउँदै सुनाउँछ आफ्नो स्वर ।
काठमाण्डुलाई थाहा छ
देवताकै शहरमा हो राक्षसहरु हुर्कने
देवतालाई नै हो सैतानले दुःख दिने ।
काखभरि सन्तान बोकेकी आमाले जस्तै
छातीभरि जिउँदा देउदेउता बोकिरह्यो
जसरी बास दियो साराका सारालाई
कसैकोमा एकसाँझ बास माग्न सकेन काठमाण्डुले ।
टाउकोमा मुड्कीले ठोके पनि चुप लाग्छ
घनले फुटाउन खोजे पनि बज्र बन्छ
काखैमा कुल्चिदा पनि सहिरहन्छ ।
काठमाण्डूले अब त आँखा खोले हुने !
बूढानिलकण्ठलाई उभ्याएर
बिरुपाक्षलाई हिडाएर
उन्मत्त भैरबलाई नचाएर
कलिलाई जमिनबाट तत्काल निकालेर
हजार मन्दिरबाट देवदेवीलाई खूल्ला मैदानमा डाकेर
काठमाण्डूले अकाट्य प्रतिउत्तर बोले हुने !
निलगिरीको थाप्लो हेरेर आफूलाई पुड्को देख्नेहरुलाई सम्झाइदिए हुने !
नव काठमाण्डुको गालीले भत्किँदैन काठमाण्डू
पराजित नव काठमाण्डुहरुलाई बुझाइदिए हुने !
काठमाण्डूको काँध चढ्दैमा काठमाण्डू बन्न सक्तैन मान्छे ।
यो पनि बुझाइदिए हुने !
काठमाण्डू
यो भूमिको एउटा पवित्र शिर पनि हो ।