Last modified on 13 सितम्बर 2024, at 19:05

कान्छा / गोपी सापकोटा

कान्छा,
यतिखेर तिमीलाई देखिरहेछु मैले
सपनाको बजारमा
तिमी पनि बिक्रीको सुचीमा रहेछौ
म देख्दैछु तिमीलाई
एउटा रक्साक झोला काँधमा भिरेर
लगेज हातले डोराउँदै
लाइन लाग्दैछौ एअरपोर्टमा
तिम्रो ज्याकेटको देब्रे खल्तीको
पासपोर्टले हिर्काउँदैछ बिस्तारै
तिम्रो मुटुलाई,
शायद त्यसैले हो कि एउटा अन्जान डरले
ढुकढुक गर्दैछ तिम्रो मुटु ।

कान्छा,
के गर्ने, हाम्रो दु:ख एउटै हो
खेतीले खान नपुग्ने
साहुको ऋण चुलिदैजाने
काम खोज्दा, काम नपाइने
माम खोज्दा, माम नपाइने
सधै बन्द, सधै हड्ताल
सबैको आ–आफ्नै ताल,
आफ्नो भने जहिल्यै बेहाल ।

कान्छा, तिम्रोजस्तै
मेरी आमा रोगी भइन
बिहे गरियो सानैमा
खेल्दा खेल्दै जन्मे केटाकेटीहरु
खाने पेटहरु बढ्दै गए पनि
गरिखाने खेतहरु कहिल्यै बढेनन् ।
केही न केही त गर्नै पर्‍यो,
होइन त कान्छा ?
अन्त कतै नबिकेपछि
बाध्यताले राख्नु पर्‍यो आफैलाई
सपनाको बजारमा ।

सपनाको कुरा गर्दा,
तिमीले सम्झन्छौ, कान्छा
हामीले स्कुल पढ्दा रोपेथ्यौं
केही विरुवाहरु स्कुलको चौरमा
बिपी या पुष्पलालको नाममा,
विरुवाहरुसंगै रोपेथ्यौं केही सपनाहरु,
जो अहिलेसम्म त फुल्नु पर्ने,
तर आँधीले लछार पछार पारेछ,
फुल्नै लागेका ती मुनाहरुलाई झारेछ,
धुजा धुजा भएछन् कठै ती सपनाहरु ।

शुभयात्रा कान्छा,
तिम्रो यात्रा राम्रो होस्
सोचे जति सबै पुगोस्
आफ्नो त के भयो, के भयो
गर्न खोज्दा खोज्दै पनि त्यस्तै भयो ।

अहो, कान्छा
तिमी त त्यही जहाज पो चढ्दैछौ
जसले भरखरै ल्याएको थियो मलाई
तिमीलाई के थाहा
तिमी त जाने मान्छे
जहाज चढ्ने मान्छे
कसरी देख्न सक्छौ र ओर्लिसकेकाहरुलाई
म त झरी सकें कान्छा,
म त झरी सकें जहाजबाट
अब कहिल्यै नचढ्ने गरी ।

कान्छा,
तिमीले त चिन्छौ कि चिन्दैनौ
म त तिम्रै साथी हुँ, पल्लाघरे साइलो
सपनाको बजारमा आफुलाई सम्पुर्ण बेचेर
फर्किएको छु भरखरै
काठको एउटा बन्द बाकसमा ।

०००