रातले रोइरहिथिन् लाखन
जलदाना,
मैले कनिका जस्ता मानी टिपी निलेँ ती
नाना !
पुछेँ गगनको —छाती
बालेँ दीप प्रभाती!
तारानलको अन्तर ज्वलनले
म भएँ रातो—
अग्नि शिखा झैँ—एक कुर्लनले
लिएँ तिमिर सातो—
पूर्व क्षितिजतिर फर्की लाएँ
बोलेँ तातो—
अन्धकारको गो टाटो—
बाक्लो कुइरो फाटयो !
छिर्का परेका ललित र लाल
हे ! कमाल !
ती हुन् मेरा विचारहरुका करवाल,
स्वरले उच्चाल—
रेटिदिएका तम–सेनाका
सकल पराजित छाल
विजयसिउर यो शानि मेरो,
प्रभात पटलको फेरो—
बास माटीको ढिकुरो—
केवल कुखुरो !