Last modified on 4 जून 2017, at 14:40

क्यान्टोनमेन्टबाट / ज्योति जङ्गल


नाविक !
कता पौडियौ
डुँगा मझधारमा अड्याएर ।
 
पर्खिरहेको छु
आशाका थोपा भरेर
समयको समुन्द्रमा
तिमिले भनेका छौ
म एकदिन किनारा उतार्नेछु ।
 
कैद जस्तो छ मुक्तिको आभास
अतिशय आशा फुल्छ
फेरि फेरिन्छ सिजन
त्यसैको रङ्गले कोतरेर
घाइतेजस्तो छु ।
 
लडाइँको उन्नत अभ्यासले
उठेका मेरा रौँ–रौँ
एकएक आत्माग्लानिले पराजित लत्रन्छन्
म जन्मनुअघिको सचेतन अँध्यारो भोगिरहेछु।
 
मेरो ब्रम्ह !
म कुन नया जीवन जन्मुला ?
यो तड्पन
बहुलाहा, हुल्याहा भइसक्यो,
प्रकृतिले भए उहिल्यै
चिरिसक्थ्यो होला
मेरी आमाको कोख
तिमि निरन्तर थुनिरहेछौ
मलाई गर्भमा ।
 
उज्यालो छोपेर,
मैले आगोलाई कति गीतले निभाउनु ?
उभिएर तटस्थ गलेका खुट्टाहरुलाई
स्वभाविक कहिले हिडाउनु ?
 
कुर्दाकुर्दै,
मुटु फुटेको आवाज पड्किएर
आधी उठ्यो भने
विद्रोहको दोष नदिनू,
सहँदासहँदै
आगोपुञ्ज म भएर
जलिरहेको छु ।
 
हेर न !
पर्खिरहेको छु,
पकाएर आगोमै सपनाहरु
सम्झाइरहेछु तिम्रो बाचा
र रोकिरहेछु यात्राको गति,
म बले पनि ती मर्ने छैनन् ।
 
सारथी ! कता अल्भि्कयौ
मेरो लगाम समातेर ?