यी अक्षरहरु उसलाई
जो यतिखेर आफुसग
आफैं हासेको पात्र छ।
बटुलेर आमाको पीडा
र आफन्तको समवेदना,
बिना बाटो यात्रारत कुनै पेंडुलम
कुदिरहेछ अचेतन, अर्धचेतन।
सानैदेखि स्याहार गरेको
बलिष्ठ छातीको आकार निचोरिएर
आफ्नै सम्झनादेखि बेखवर
सिर्फ यो देशको
एउटा इमान्दार सिपाही
अब बेपत्ताहरुको सूचीमा छैन,
न भगौडाको कारवाहीमा छ,
त्यहा पनि छैन,
मृत्यु हुने बीर जवानको नाममा।
अब उस्को उचाई
बिना सर्पको काचुली जस्तै
खोक्रो लडेको छ,
बेहोसी बोकेर हल्लिदै
भीरको कुनै काडे बुट्यानमा
फ्याकिएको
ऊ,
एउटा चर्केको
खाली बोत्तल झैंछ।
यी दिन,
फुर्सदको शिखर आरोहण गरिरहेछ ऊ
र ओर्लने कुनै बाटो छैन,
कुनै यस्तै एकदिन
ऊ मातृभूमिको पूजामा
सिपाही हुन
आमालाई ढोगेर हिडेको थियो।
जीवनको परीक्षा
यति निर्दयी किन हुन्छ ?
प्रत्येक भेटमा
मलाई उस्को इमान्दार अनुहारले काट्छ
या म स्वयं नियतिको प्रहारले ढल्छु।
यो अक्षरको स्वर्णमाला
उसैले भुलेको परिचयलाई,
उसका बेठेगान पाइलाहरुलाई,
र उसको पवित्र छातीलाई
जहा मात्र यो देशको माया छ।