Last modified on 22 जून 2020, at 13:55

चोर फूल / देवान किराती


फूलको बस्तीभित्र
          मन हराएपछि
          मन चोरिएपछि
आजकल मुटु दुख्न छाडेको छ ।

फूलका नरम धारहरूले
आजकल पनि बारम्बार
मुटु नचिरिरहेको त कहाँ छ र ?
तर मन नै चोरिएपछि
फूलको बस्तीभित्र
मुटु दुख्न छाडेको छ ।

उसले मलाई
एकचित्त नसोधेकी त हैन
“मन चोरिएपछि तिम्रो
के तिमी सपना देख्तैनौ
चोर फूलको ?”

मैले आँखामात्रै फर्काउँदा
ऊ आफैँ तर्किएकी थिई ।

साँच्चि नै मुटु दुख्नु त
पहिला मन पो दुख्नुपर्दो रहेछ ।

आजकल
म खोजिरहेको छु
फूलको बस्तीभित्र
हराएको मन
र चोर फूल ।