Last modified on 12 सितम्बर 2024, at 18:55

चौबीस गते / महेश मास्के

कुनै अभेद्य दुर्ग झै
राता झण्डाहरू फहराउँदै
सगौरव उभिएको छ
वीर अस्पताल

बाहिर जुलुश छ, झण्डा छ, नारा छ
आक्रोशको समवेत स्वर छ
बाहिर पुलिस छ, सैनिक छ, बन्दूक छ
आतङ्क फिजाउने हताश प्रयत्न छ बिस्तारै घुँडा टेकेर निशाना साध्दै छन्
कसैको इशारामा
निहत्था जनताका रगतको फागु खेल्न पल्केका मन्त्र मानवहरू
रंगिदै छन् आलो रगतका छिटाहरूले
यस प्रांगणका सेता पर्खालहरू
तर पनि कुनै विप्लवी योद्धा झै
छाती तानेर उभिएको छ
बीर अस्पताल

भित्र घायलहरू छन्, लाशहरू छन्
शोक र संकल्प एकैसाथ व्यक्त गरिरहेका आफन्तहरू छन्
भित्र स्वास्थ्य कर्मीहरू छन्
मृत्युको विरोधमा क्रियाशिल हात र अठोटहरू छन्
एउटा घाउ ड्रेसिंग गर्न नपाउँदै
अकों घायल भित्रिन्छ
गोलीको आवाजले पटक पटक
इमरजेन्सी कक्षका शीशाहरू थर्कन्छ
तर पनि कुनै हिमशिखर झैँ
अभय र धैर्यको सन्देश भएर उभिएको छ
वीर अस्पताल


वीर अस्पताल वरिपरि पोखिएका
वीर नेपाली जनताको अदम्य शौर्य र अद्भुत उत्सर्ग हेर्न पाएर
स्वयं इतिहासको एक अंश भएकोछु
मेरो अघि १४।१५ वर्षे किशोरको मृत शरीर छ
र उसको पछाडिको गोजीमा एउटा सानो गुलेली छ
यो कोलाहलपूर्ण रातमा
बन्दूकलाई ढुंगा र मट्यांग्नाले भगाएको कथाका
नायक र दर्शक दुबै मानौं
समयको यस निर्णायक घडीका साक्षी बनेका छन्
र यिनीहरूलाई छातीमा टाँसेर
शहीदको सपना आँखाभरी संगालेर
कुनै निदो पहाड झै
एउटा नवीन युगको प्रतीक्षामा उभिएकोछ
वीर अस्पताल !

०००