Last modified on 28 मई 2017, at 17:30

छोटा कविता / दुर्गालाल श्रेष्ठ

प्रेम
प्रेम फलाक्ने त्यो बबुरोले
प्रेम गरोस् नै कसरी
प्रेमैले छ त दैलो बन्द
प्रेम पसोस् नै कसरी
प्रेम, प्रेम हो, महल न मदिरा
कविता पनि त्यो हैन
प्रेम फगत् हो प्रेमै, जसको
परिभाषा नै छैन ।

भाषा
देश मलाई य‚तो लाग्छ
माटो मात्रै त्यो हैन
देश मर्छ तब, माटोले जब
आफ्नो भाषै बोल्दैन
भाषा हावाझैं छ अदृश्य
तर यो प्राणैको पनि प्राण
छैन जहाँ यो प्राञ्जल हावा
हो है त्यो सुनसान मशान ।

नक्कली मान्छे
यो पनि मान्छे, त्यो पनि मान्छे
को मान्छे, को मान्छे
ख्वै, म त देख्दिनँ, कोसँग दाँजू
क‚तो छ भनूँ मान्छे
जब मान्छे त्यो, त्यो नै नबनी
खोज्यो अर्को बन्न
तब मान्छेले मान्छेको नै
लाग्यो खेदो खन्न ।