प्यारो छोरा
तिमी हिँड्दै गर
समय नछोडी
मैले त बेचिसकेको छु
आफ्नो समय सँधैका लागि
मेटिदैन रहेछ प्यास आँसुले
भरिदैन रहेछ पेट हाँसोले
बुझेको भन्दा फरक छ, यो समाज
सोचेको भन्दा भिन्न छ, यो संसार
नगर सँगै बसेर दन्त्यकथा सुन्ने चाहना
एउटै अगेनोको न्यानो तापेर भोक मेटने रहर ।
तिमीले
जून टिपेर अँध्यारोलाई चिर्नुपर्छ
तारा ल्याएर धर्तीलाई सिँगार्नुपर्छ
सिर्जनाको नदी बगाई
संसार हराभरा बनाउनुपर्छ ।
मैले त सधैँ
अरूका लागि बाँचिदिनुपर्छ
तिमी समय खेर नफाल, मेरो प्रतिक्षामा ।
कसैले, सापटी दियो भने समय
कुनै साँझ आइपुग्ने छु
तिमी बस्न पुग्ने काख लिएर
आशीर्वादको चुम्बन दिन ।