१
बनन तिमि दयाल जाबि यो खोलिदेऊ
चरि म नवप्रसूतीको यती बिन्ति लेऊ
भन मकन नखाई हुन्छ के एक छाक ?
गरदछु शत बिन्ती छाडिद्यौ हे निषाद ।
२
जननि जननि भन्दै उफ्रि उफि कराई
क्षण क्षण मुखको यो खान आहा नपाई
गुडबिच प्रिय बच्चा गर्दछन् ती विषाद
गरदछु शत बिन्ती छाडिद्यौ हे निषाद ।
३
फरफर गरि खस्छन् भोकले वृक्षदेखी
सुत मम कलिला ती मलाई नदेखी
कसरि सहनु मैले आज यो वज्रपात
गरदछु शत बिन्ती छाडिद्यौ हे निषाद ।
४
नथिचन तिमि बिन्ती पंख बिग्रीसकेछन्
रुखबिच प्रिय बच्चा लौन के भै रहेछन्
तिमिसित घरमाहा भो भयो जान्न आज
गरदछु शत बिन्ती छाडिद्यौ हे निषाद ।
५
उरकन गरि पत्थर जालमाहाँ फसाई
अब तिमि नसताऊ दुःखिनी पन्छिलाई
गरूँ कति भन तिम्रो जाविमा अश्रुपात
गरदछु शत बिन्ती छाडिद्यौ हे निषाद ।
शारदा, १११२, माघ १६६२