Last modified on 27 मार्च 2018, at 10:19

डायरीका पानाहरु / विमल गुरुङ


आजकल हरदम
दिउँसो/ बेलुकी/ रात/ बिहान
मलाई पट्यारले घोचिरहन्छ
पहिला पहिला त यत्ति सार्‍हो भएजस्तो लाग्दैनथ्यो
तर, आजकल हरदम
पट्यारको छलले हिर्काइरहन्छ
क्रमश: हिर्काउँदै जान्छ
म पट्यारको बिरुद्ध संग्रामको घोषणा गर्छु
रेडियो खोलेर
घन्काएर क्यासेट
खोलेर किताबको झ्याल
लेखेर केहि सेतो कागजमा
म पट्यारको बिरुद्ध संग्रामको घोषणा गर्छु
निस्केर टन्न घाम लागेको चोकमा
गएर छाता चोक
हेरेर नित्य पुस्तकहरु
हेरेर नित्य पत्रीकाहरु
पसेर पुस्तकालय
सल्काएर सिगरेट
तर, मात्र पराजय भोग्छु
आजकल हरदम
दिउँसो/ बेलुकि/ रात/ बिहान
धरै नपाई
मलाई पट्यारले निमोठिरहन्छ/ चिमोटिरहन्छ
खै किन हो कुन्नी
मलाई
आजकल
दिकदारीले निचोरिरहन्छ
दिकदारीले पिटिरहन्छ
गाला र नाकको टुप्पामा रातो रङ पोतिदिएर
मलाई
आजकल हरदम
दिकदारीले जिस्क्याइरहन्छ
बिवश छु !
फो साँच्ची पक्कै पो त
जिस्क्याइरहन्छ
जिस्क्याइरहन्छ ।