डेरा सर्दै गर्दा– कसिसकेको गुन्टामाथि बसेर सोचिरहेछु
दश वर्ष भन्नु थोरै होइन समय !
मीठो सपनाजस्तो यौवन बितेको थियो यस कोठामा मेरो
यही बितेका थिए कलेजका दिनहरू
र सुरु भएथ्यो सरकारी जागिर
यही सुनिएथ्यो आत्मीय साथीको दुर्घटनाको खबर
असंख्य कथाहरू छन् बिर्सनै नसकिने !
यही छँदै भेटिएकी थिई सिल्भिया
त्यो गहिरो प्रेम, बिदाइ र आँसु
अनि हृदयमा उठेको पीडाको शूल !
यी कोठाका एकएक कुनाले सुनेका छन्
मेरा आँसुका आलाप
यो झ्याल साक्षी छ– तारा गन्दै बसेका
मेरा अनिदा रातहरूको
तर स्टेसनको कुनै व्यस्त पसलेजस्तै
सम्पूर्ण परिचयबिना नै हाँसी हाँसी विदाइ गर्दैछ
यो घरले आज
कसैलाई बिझ्नेछैन मेरो अनुपस्थिति
मात्र पर्दाबिनाको खाली झ्याल देखेर
सोध्नेछ कुनै युवकले कोठाको भाडा र पानीको आपूर्ति
घरबेटीलाई उसैगरी प्राप्त हुनेछ रकम
र पसलेले भेट्नेछ नयाँ ग्राहक
हुनसक्छ– बब मार्ले टाँगिएला बुद्धको ठाउँमा अब
महाकविको ठाउँमा म्याडोना
वा राखिएला गमलाको ठाउँमा टिभी
तर उसैगरी पूर्व–पश्चिम नै हुनेछ खाट
(किनकि कोठाको आकार नै यस्तै छ)
जति नै प्रिय लागे पनि
बिछ्यौनामै खस्ने चन्द्रमाको प्रकाश
आँगनको हरियो दुबो र छिमेककी दयालु बूढी
कुनै अज्ञात सफरमा निस्केको मैले खोज्नु छ अर्को डेरा
र बसाउनुछ नयाँ संसार– संसारको डेरामा !