Last modified on 13 फ़रवरी 2022, at 21:44

तिमी आएनौ / हृदयचन्द्रसिँह प्रधान

प्रिय, आज पनि तिमी आएनौ।
रुँदै-रुँदै सुत्दाको हिजोको वेदनाले
रगतलाई सुकाएर निस्केको आँसुले,
अनि - थकित भै निदाउँदै आइरहेको सुस्केराले पनि
प्रिय, तिम्रो स्मृतिको ढोका घच्घच्याउन सकेन ।
प्रिय, आज पनि तिमी आएनौ !

प्राणेश, तिम्रो बाटो पर्खँदा-पर्खँदा
सूर्यका त्यति लामो बाटो नापिसकें,
तिमी गएका क्षितिजतिरबाट आएका
सारा मानिसलाई पर्खी-पर्खीकन हिसिइसकें।
प्रिय, आज पनि तिमी आएनौ।

'आजको दिन गयो, गयो, गयो' भन्दै चराहरू सबै सुतिसके,
'कसको बाटो पर्खिरहेको, पागल!' भन्दै
रजनीले कालो झन्डा देखाएर जिस्क्याइसक्यो,

तर
चन्द्रमाले उज्यालो दिएर सहानुभूति देखाएकोले
तिम्रो बाटो पर्खिरहेकै छु,
भूरि-भूरि आशा, कुरी-कुरी उत्कण्ठा लिएर
तिम्रो प्रतीक्षा गरिरहेकै छु ।
प्रिय, आज पनि तिमी आएनौ !

अनि हिजोजस्तै, अस्तिजस्तै
रुँदै, आँसु बहाउँदै, सुस्केरा लिँदै
प्रिय, मैले दिन बिताइरहेको छु ।
रात लामो छ,
पल-पल काढा भएर मेरो मुटुबाट गुज्रिरहेको छ,
मेरो प्रत्येक सासबाट खालि यही निस्किरहेछ-
"प्रिय, आज पनि तिमी आएनौ, तिमी आएनौ !"

....................................
भारती, १।१०,चैत २००६