Last modified on 16 मार्च 2017, at 10:49

ती जङ्गलकाहरू / मनप्रसाद सुब्बा


ती जङ्गलकाहरू
...(India’s Finance Minister) P. Chidambaram’s dismissiveness – “They (the tribal) live in the jungles.”
                                                                                                           
                                                                                             Subaltern’s Victory (The Editorial)
                                                                                                 The Statesman, 22 April 2013.


‘तिनीहरु जङ्गलमा बस्ने त हुन् नि !’
त्यसो नभन्नोस् मन्त्रीज्यू !
बरू भन्नोस् – ‘तिनीहरू जङ्गलसित बस्छन्
अनि जङ्गल तिनीहरूसित बस्छ।‘

जङ्गलको कोखबाट जन्मेका तिनीहरू
जङ्गली होइनन्, तर जङ्गलका हुन्
अनि जङ्गल तिनीहरूको हो
जस्तो कि तपाईंलाई जन्माएर हुर्काउने आमा
तपाईकै हुन् ।

रूखहरूको बोली तिनीहरू नै बुझ्छन्
तिनीहरू नै सुन्छन् झारपातको साउती।
जङ्गलमा तिनीहरू कसरी हिँड्छन्, देख्नुभा’को छ?
तिनीहरू हिँड्दा रूखहरू नै हिँडेका देखिन्छन् खुट्टाले भुँइ टेकेर।
तिनीहरु गाउँछन् आफ्नै आदिवासी गीत
अनि गाउँछन् रूखहरू पनि थरिथरि चराका भाकामा।

जङ्गलभित्र कहिल्यै पस्नुभएको छैन होइन ?
त्यसैले त जङ्गलको मनलाई बुझ्नुभएको छैन ।
जङ्गलभित्र घुमफिर गर्छन् देवी-देउताहरू खुल्ला
ती देवी-देउताहरू सोझै बात मार्छन् जङ्गलका सन्तानहरुसित।

तपाईंले आजसम्म पत्रकारहरूसँग
जतिवटा शब्दहरू बोलिसक्नुभएको छ नि
त्यति नै वटा भाषा छन् जङ्गलका
देशभरि सेलफोनका जति किसिमका रिङटोनहरू छन्
उति नै किसिमका स्वरहरू छन् जङ्गलका ।

हो, जङ्गलकै हुन् तिनीहरू।
सहरे सुविधासँग के सरोकार तिनीहरूलाई?
यत्ति हो कि तिनीहरूको जङ्गल तिनीहरूसितै रहोस् ।
तिनीहरू सहर भत्काउन कहिल्यै आउँदैनन् ।
तर तपाईं चैं किन पठाइरहनुहुन्छ तपाईंका कर्पोरेट प्रतिनिधिहरू
तिनीहरूको बास भत्काउन?
तिनीहरूलाई उखेल्न ?

यो धरती कसको?
ती प्राचीन आदिवासीको
कि तपाईंका मशिनको?

हो, तिनीहरू जङ्गलमा बस्छन्
अनि जङ्गल तिनीहरूमा बस्छ ...