Last modified on 28 जुलाई 2020, at 15:45

दिनको हैरानी / सुदीप पाख्रिन

समयको हाँगामा सुरक्षित
वर्तमानको निरीह र टिठ्लाग्दो गुँडलाई
एक्काशी आएर
हल्लाउनु हल्लायो
र निर्ममतापूर्वक खसालिदियो
राक्षसी यादहरुका आँधीले ।

र, कुनै ग्लानी बिना
कुनै पश्चाताप बेगर नै
लुसुक्क... छाडेर गयो ।

भूइँभरि छरिएर रहेका छन्
आँधीले हल्लाई झारेका
टुटेफुटेका सपनाहरु
आधीअधुरा रहरहरु
अनिच्छित केही इच्छाहरु
र छ विकृत अनुहारको वर्तमान

हैरान हैरान छ दिन
हेरेर प्रतिविम्ब आफ्नै— वर्तमानको ऐनामा ।

बर्षौदेखि सुरक्षित ठानिएको बन्द कोठामा
चूपचाप रहेका यी चैन र आरामलाई
केही यादहरु आँधीझैँ आए
घिस्याउँदै लगे फर्कि आउन नसकिने कुनै रहस्यमय जंगलतिर

अचम्भित हुँदै
सोचिरहेछ दिन
एकसुरमा कुनै कविझैँ—
"तानाशाहका क्रुर सिपाहीहरुझैँ
संवेदनहिन विद्रोहीहरुझैँ
यति निर्मम किन छन् हँ, यी यादहरु ?"