Last modified on 10 मई 2020, at 17:34

दिवङ्गत कविको नाममा / भूपिन

पुरै जीवनभरी अर्थ लगाउन पुग्नेगरी
मेरो हातमा एउटा कविता थमाएर
लापत्ता भएको छ मेरो प्रिय कवि

हराउनुअघि
मेरो छेउमा गाइरह्यो उसले
अभावका अन्तिम अन्तराहरु
हराएपछि
अन्जुलीमा थमाइदिएको छ जीवनको कविता
जसलाई मैले अर्थहरूको समुद्रमा
पारि तार्नु छ … … …

तुलसीको मठनेर
उसले पोतेर गएको छ एउटा एब्सट्रयाक्ट पेंटिंग
जसलाई बुझ्नु छ
बेडरुमको कुनामा
छाडेर गएको छ एउटा दुब्लो बाँसुरी आँफूजस्तो
त्यसमा जीवनको धून भर्नु छ

कला लेख्न र पोत्नुमा के महानता छ र ?
जीवनको सर्वाङ्ग क्षितिज खुल्छ
कला बाँच्नुमा
कवि कला बाँचेर गएको छ
र जानुअघि
एउटा अराजक पाठकको हातमा
जीवनको कविता खसालेर गएको छ
इश्वोर सेरिएर आत्महत्या गरेको
एउटा त्रासद मस्तिष्कमा
मन्दिरको काव्य छापेर गएको छ

सके
त्यही कबिताको सिमान्त अर्थ पहिल्याएर
नसके
अर्थहरूको सीमानामा
नक्सा हराएको कुनै पर्यटकझैँ अल्मलिएर
जीवनको अन्तिम छेउसम्म पुग्नु छ
र रोइरहेको छोराको हातमा
हाँस्दाहाँस्दै त्यही / त्यस्तै कविता थमाएर
एकदिन
यस धर्तीबाट
म पनि मेरो बाबाझैँ लापत्ता हुनु छ !

(दिवङ्गत पिताको नाममा)