Last modified on 16 फ़रवरी 2022, at 20:18

दूबो / पुष्कर लोहनी

दूबो पलाएझैँ इच्छा पलाउँछ
मेरो छाती
हरियै हरियोले ढाकिदिन्छ
हरियोको गन्धै गन्धले
मानिसको मगज गुम्म पारिदिन्छ
निसास्सिएको वाफ फाल्नलाई
खोजी खोजी यहाँ मानिस आउँछ ।

दूबो पलाए जस्तै प्रबल भएर इच्छा पलाउँछ
खालि जमीनमा दुबो बढेझैं
बाँझो छाती देखेर
उन्मत भैरवको भूतले एक्कासी छोप्छ
अनि यौटा विशाल चौर बन्छ
मानिसहरूको निम्ति।

ढुङ्गाको काप कापबाट
दूबो निस्केन झैँ
हृदयको कुना कुनाबाट
तरल भएर इच्छा बग्न थाल्छ
अनि यौटा नयाँ संसारको सिर्जना हुन्छ ।

दूबो पलाएझैँ
इच्छा सधैँ सधैँ पलाई नै रहन्छ ।