Last modified on 25 अगस्त 2024, at 20:05

दृष्टिमण्डल / गीता त्रिपाठी

 

असङ्ख्य शब्दहरूको भीडमा
अर्थहरूबाट चुहेर
मात्र इन्द्रेणी बाँकी छु !

इन्द्रेणी भएदेखि आँखाहरू
दृश्यलाई भारी बनाएर
दगुरिरहेको छ,
कैयौँ सपनाहरूका पछि।

तृष्णाको भरिया भएको छ समय
एकपल झ्याप्प निभिगयो भने सत्व!
अवचेतनमा फैलिएको कुनै घामले
उभ्याउन सक्दैन जीजिविषाको पानीघडीलाई !

रोपेर माटोमै घामपानीको इन्द्रधनुष
सप्तरङ्गी बालाहरूमै
म इन्द्रेणी झुलिरहन चाहन्छु !