Last modified on 25 अगस्त 2024, at 17:02

दृष्टिमण्डल / सुमन पोखरेल

संसारको यो एउटा डल्लोमा
भरिएका छन् अनेक रूपहरू
छरिएका छन् अनेक रङहरू !

दुनियाँको यो फैलाहटमा
धरतीको यो व्यापकतामा
सृष्टिको अपरिमेयतामा
कति अटाउन सकेका
यी संस्कार र संस्कृतिहरू
सौम्य, शालीन विविधताहरू
ज्ञान, अज्ञान र कुज्ञानहरू
विचारहरू, बबन्डरहरू
सोचाइ, सिद्धान्त र मान्यताहरू !

संसारको एउटै विशाल दृश्यमण्डलमा
कति फरक
द्रष्टाहरूका आआफ्ना दृष्टिहरू !

अहो !
कति सानो
एक एकाई प्राणीको चेतनाको वृत्त
कति सङ्कुचित
उसका दृष्टिका किरणहरू !