अनावश्यक छौ
नआओ सपना मेरा आँखामा,
दृष्टिहरु
मेरो देशको क्षितिजमा छोडिएका छन्
यहाँ विनादृष्यको म
बेठेगाना मात्र हुँ ।
चुँडिएको छु
म हुर्केको बोट त्यतै छाडेर
पातमाथि राखेर मेरो सत्व
खसें कहाँ त्यसरी
एउटा बूढो पातजस्तो
सम्पूर्ण सन्तुष्टी बोकेर ?
या हरियो जीवन भोगेर ?
वयस्क नमज्जा भोग्छु प्रत्येक स्वासमा
अतित दंशले पाइला पाइला मरेर चल्छु
कयौं वर्ष बिताए पनि
सिमानाबहिरको बिरानो माटोले
मलाई चिन्दैन,
यो आकाशको नीलोसमेत
तीतो लाग्छ
यो शिविरको पानीमा मेरो तिर्खा
सधैं प्यासी छ।
नसता मलाई अपराधी सन्तोष !
म आफ्नै देशमा कैदी हुनु थियो कि भनेर,
धेरै भो
यो शरणको पासोमा
अनस्तित्व हाँसेको परिचय
जरुर लाशसम्म आइपुग्नेछ,
अहिले पनि
म बाँचेकै कहाँ छु र ?