Last modified on 16 जुलाई 2017, at 15:51

नायक / सविता गौतम दाहाल


सधैं के के वडवडाएर
खुले आम ऑधी बोकेर हिडछ
अराजक हुँ भन्छ
जीवनको उहापोह पोखेर
कतै हराऊं भन्छ
ऐनाभित्र जीवन घडी हेरेर टोलाइरहन्छ ।

बेहिसाव उसका आत्मीय साथीहरु
कहिले काहीं मलाई ईर्ष्या लाग्छ
सुनेरपनि उ नसुनेझैं गर्न सक्छ
चट्याङका आवाजपनि
कहिले त सुन्दै नसुनी
सुने र राम्रो लाग्यो भन्दै हिड्छ ।

उ आफ्नो प्रेम कोलाहलको उज्यालो व्यक्त गर्छ
भित्रभित्रै जलाउछ र आफू अघिनै निभेर
चुपचाप रमिता हेरिरहन्छ
एउटा झरी बर्षीरहन्छ ।

बरालिएको पनि सुहाएकै छ उसलाइ
चिच्याउदापनि जोसिलो शक्तिवान पो देखिन्छ
हररुपमा उ नायक
अनि बेजोडको योद्धा
कलाको व्याख्या जब उ गर्छ
लाग्छ अंगालोमा बॉधु र भनुँ
तिमी मलाई मन पर्छ ।

शिशीरको कुनै घमाइलो मध्य दिन
अनायस,
च्यापेर एउटा सुन्दर उपहार
मनेर आइपुग्छ ।
अविश्वसनियता लहर वनि उठ्छ र
कतै क्षितिजतिर हराउंछ ।

कुनै सॉझ हल्का मातेर
जब उ बोल्छ मेरो नाम
लाग्छ भित्रको कुनै खजाना फुकाएर झिक्दैछ
र दिदै छ यादका गुलाफी मोतीहरु
जो उसले सदियौदेखि आफूसंग राखेको थियो ।

यो नायक
जीवनका षडयन्त्रकारी आघातले
एकाएकका सुनामीहरुले
नेपोलियन बनेको हो
सम्राट अशोक लडेको हो
बुझेर नै त
मैले उसलाई एकोहोरो मन पराएँ
र मनपराइरहेछु ।