१.
समयको हावाले च्यातेको
रूपको गुड्डी
चाउरीका करङहरू देखाएर
लर्किरहेछ अनुहारको रूखमा ।
नार्सिसस,*
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
२.
फूलका क्यारीहरू
फूल–फूलका ऐनाहरू ।
समय ढुङ्गाको घुयेँत्रो।
क्षणभङ्गुरता ।
आँखा चिम्म गर्छु—
सुन्छु एउटा आवाज ‘छर्लम्म ।’
नार्सिसस,
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
३.
उमेरको बोटमा
बैँसका फूलहरू सुन्दर हल्लिइरहेछन्।
हुरीका पाउहरू देखिँदै छन्
दगुर्दै–दगुर्दै यतै आउँदै गरेका ।
नार्सिसस,
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
४.
आम्मै। कति नुहेको
कम्मरमा त्यो उमेर ।
फुटेछ त्यहाँ
वयको एउटा ऐना ।
नार्सिसस,
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
५.
त…ल–तलबाट
उठ्दै आइरहेका बादलहरूले
हरे। छोप्न लागे गाउँ
ढाक्न लागे घरहरू ।
आउँदै छ, बादल आउँदै छ
बर्सिनलाई फुटेर छर्लम्म ।
नार्सिसस,
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
६.
बग्दै आइरहेको समयको पानी
खोला बोटमा फुलेका
फोका फूलहरू ।
उठ्दै आएका
फुट्दै गएका ।
सुन्दर फिँज
विसर्जित भइरहेका ।
अहो।
फुटेको पानीको स्वरूपमा
जिन्दगीको काँच छर्लम्म ।
नार्सिसस,
मेरो हातमा पनि छ
फुटेको एउटा ऐना ।
- नार्सिसस— ग्रिक मिथकका एक पात्र जो पानीमा आफ्नोप्रतिविम्ब हेर्दछन्, अनि आफ्नै सुन्दरतामा मक्ख भई प्राण त्याग गर्दछन्।