बाहिर निस्कन मानिरहेका छैनन्
शब्दहरू,
कोलाहल गरिरहेछन्
मेरो मनभित्रै रुमल्लिएर ।
खै कहाँ हराए
तिम्रो साथमा हुँदा
समुद्रसरी सलबलाइरहने
ती अन्त्यहीन कुराहरू ?
हुन त
यिनीहरू बाहिर आउन् या नआउन्
प्रस्फुटित भै रहन्छन् मनभित्र
तिमी सुन या नसुन
कोलाहल मच्चाइरहन्छन् मभित्र ।
गुञ्जिरहन्छन् शब्दहरू मभित्र यसरी
मानौँ असन्तुष्ट छन्
सुनिदिने कान नभेटेर
बुझिदिने मन नभेटेर ।
भावनाहरूको उच्छाल हो
या हो तिम्रो नहुनुको असंतोष
तिमीसँगको दूरीको बेचैनी हो
या नभेटिएको हो
शब्द छर्ने मनको जमीन ।
मौन छन् यी ओठ
निश्तब्तता छ वरिपरि
तर म गुनासो सुनिरहेकोछु
मनभित्रै लुकेका शब्दहरूको,
गुनासो
तिम्रो अनुपस्थितिको
रित्तोपना र भरिने चाहनाहरूको ।
उफ ! कति कष्टकर
यो बोली हराउनुको परिणाम !
तिमीलाई नभेट्नुभन्दा पनि धेरै
तिमीले नसुन्नुभन्दा पनि ज्यादा
मलाई शब्दहरूको यो जिद्दिपनाले पिरोलिरहेको छ ।
यिनै शब्दहरू नै त हुन्
तिमी र म बीचको दूरीलाई जोडिदिने योजक ।
यी शब्द यसरी नै निशब्द भइरहे भने
कहाँ खोजूँला म तिमीलाई,
कसरी खोजूँला म तिमीलाई,
झन अझ,
कहाँ भेटूँला म आफूलाई !