Last modified on 1 जून 2017, at 20:00

पर्खाइ / निमेष निखिल


सधैँ देखिन्छन्―
सँगै गाँसिए जस्ता लाग्ने बिजुलीका दुई खम्बा
नियालेर हेर्दा आश्चर्यले टोकिन्छ जिभ्रो
त्यो सानो खम्बा एउटा बालकजस्तै लाग्छ।
 
आफ्नै लुगाका झ्यालहरूबाट―
संसार चिहाइरहन्छन् उसका अङ्गहरू
हरेक रात कोलम्बस सपनामा―
ऊ खोजिरहन्छ भोक निरोधक औषधि
 
शिरमाथि गह्रौँ बोझ―
विज्ञान र प्रविधिको, एक्काइसौँ शताब्दीको
बन्द, हड्ताल र जामहरूको
आन्दोलन, युद्ध र धोकाहरूको।
 
चिसा खोकिलाबाट निकालेर एक टुक्रा समय
ऊ पढ्छ― आफ्नै पर्यावरण
सुकिला मान्छेहरूको ताँतीसँगै
झुन्डिएर हिँडिरहेका साग र फलफूलका झोला
बाआमाका औँलामा पिङ खेल्दै हिँडेका―
आफूजस्तै नानीहरू
मोटरहरूको ताँती रोकेर दौडिरहेको सडक
अनि अस्ताउनै लागेको एउटा सूर्य पर क्षितिजमा।
 
त्यहीँबाट देखेको छ उसले―
राजतन्त्र विरुद्धको उन्नाइस दिने आन्दोलन
र त्यहीँबाटै देखेको छ गणतन्त्रपछिको विजय जुलुस।
 
तर अझैसम्म पनि मरेको छैन―
उसका आँखाको आदिम तिर्खा।