पहिरो गएको देशमा छु म ।
मभित्रै पनि एउटा पहिरो छ
त्यही पहिरोको डिलमा बसेर
छोरी सोध्छे –
बाबा !
हुरीबतास भनेको के हो ?
जबाफ अर्कैले दिन्छ –
हुरीबतास भनेको आतङ्कको पहिरो हो नानू !
वीरुदादा,
जो अडिन नसकेर हराएको थियो गाउँबाट,
त्यो भनेको के हो ?
– ऊ फेरि उसैलाई सोध्छे
म भन्न सक्दिनँ–
‘वीरुदादा पहिरो थियो,
जो भत्कियो भर्खरै’
धन्न ! मैले भन्नु पनि पर्दैन ।
नआएको भए ऊ
मेरो पहिरोको डिलमा उभिन
मलाई पनि लाग्थ्यो
वीरु काँचो माटो थियो,
भत्कियो होला ।
भत्कियो होला–
पारि गाउँको लामिछाने मेजरलाई भनेर
रोकिदिनुस् मेरो दुर्गम–सरुवा भन्दै
हारगुहार गर्ने मेरो गाउँको भाइ,
जसले जाने बेलामा भनेको थियो,
मैदानमा
कृष्णे बरालको छोरो भेटियो भने
के गर्ने होला हगि दाइ !
रगत,
सुकेपछि कालो हुँदोरहेछ
म पढिरहेको छु उसैको रगत
छापिएको छ कालो पत्रिकाभरि चार रङमा
र पढिरहेको छु,
उसको दुर्गम–सरुवा रोक्न नसक्ने
लामिछाने मेजरको रातो सलामी ।
पहिरो गएको देशमा छु म,
त्यसैले भत्किरहन्छु ।