पाखे भन्छ तँलाइ आज दुनियाँ, पाखे त होस् वास्तव,
पाखे भन्न-भनाउनै जगतमा राखेस् ठुलो गौरव ।
यै खस्रो र खरो विशिष्टपनले ज्यूँछस् सदा सर्वदा,
मर्छस् त्यो दिनमा अवश्य पनि गै पाखेपना विर्सदा ।
पाखे । जीवित मार्गको कदममा तेरो छ आफ्नो सव,
ज्यूँदो शक्ति अगाधले तँ जसको दिन्छस् डगाई भव ।
पाखेकै पनमा छ आत्मबलको खानी दिने जिन्दगी,
पाखे हिंड्छ सधै उँचा शिर लिई स्वच्छन्दतामा. रँगी ।
पाखे हुन्छ सदा समान गतिले जो भित्र सो बाहिर,
पाखे लड्दछ मृत्यु-सन्मुख डटी कर्तव्यको खातिर ।
पाखे जित्तछ काललाइ सहजै आवेगमा जोशको,
पाखे हुन्न शिकार रत्तिभर क्यै ईर्ष्या, घृणा, द्वेषको ।
चिप्लो कृत्रिम कार्यको कुटिलता पाखे कहाँ जान्दछ,
आत्माभित्र विवेक-तन्तुकन त्यो प्राणैसरी ठान्दछ ।
पाखे जीवनलाइ सत्य-पथको आभासले धान्दछ,
पाखे छोड्न परे इमान त बरू मर्ने निको मान्दछ ।
पाखेको छ हिमाल झै अति ठुलो छाती र आदर्शता,
पाखेकै इतिहास कँदछ धरती सग्लो लिई वीरता ।
बग्दा धार नसा नसा रगतको तातो कडा निर्भयी
पाखे हाँक, थिचोमिचो अलिकती बस्तैन कैल्यै सही ॥
अन्यायीहरुका समक्ष कहिले लत्रन्छ पाखे कहाँ ।
छोप्दै पुच्छर भाग्दछन् सकल ती चड्कन्छ पाखे जहाँ ।
पाखे उड्छ फिँजाइ पङ्ख नभमा स्वाधीनताको रमी,
आफ्नै बाहुमहाँ टिकेर रहँदा त्यल्लाइ भो के कमी ॥
देखाई परमाणु उद्जनहरू पाखे कहाँ डर्दछ,
पृथ्वीको जब भाग्य-निर्णय सदा पाखे बढी गर्दछ ।
पाखे धस्छ घुँडा र मेट्तछ पिसी आतङ्कको, नर्तन
पाखे गर्दछ प्रेमले हृदयमा संसारको शासन ॥
पाखेकै पनमा थिए जनकज्यू, पाखे थिए गौतम,
पाखे नै त थिए महान प्रतिभा ती पीर्थि नारायन ।
पाखे हाँक्तछ विश्वलाइ युगको सच्चा बनी सारथि,
पाखेकै हिमशैल गाइरहला आलोक-गाथा कथी ॥