हिंड्दाहिंड्दै
कतै मोडमा, कर्कश भीडमा
गजुरको चुच्चेटोपी लाएर बसेका मन्दिरछेउ
ढाड कुप्रिएको बूढो बाटोको किनारमा
वा धमिलो प्रकाशमुन्तिर कुनै अप्रचलित रेस्टुरेन्टमा
जब भेटिन्छन् अचानक पुराना मित्रहरू
स्थापित हुन्छ मधुरम एकान्त
आफैं बोल्नथाल्छन् ओठहरू
आँखाका पुतलीभित्र चम्किन्छ खुसीको दियो
र एकाएक यौवन फर्किन्छ जिन्दगीमा
जब भेटिन्छन्– पुराना मित्रहरू कुनै दिन !
सिर्रर– बग्छ सम्झनाको बतास
हल्लाउँदै हृदयका पातहरू,
त्यो ठूल्दिदीको बिहे र कसारको चोरी !
जूनको उज्यालोमा खेलेको लुकामारी, बगरको त्यो बालुवाको घर
स्कूलबाट भागेर दिनभरि दहमा खेलेको पौडी
र मोजामा पुराना कपडा कोचेर बनाएको भकुन्डो
सानो झगडाले धेरै दिन नबोलेको कुरा र बोल्नुको आतुरता
क्रमशः बदलिदै जान्छन् दृश्यहरू
अचम्मको अनुभूति हुन्छ
जब बिहेको कुरा गर्दा लजाउने मित्रले
सोध्छ निर्धक्क–
‘कति छन् नानीहरू?
अब त हुर्की पनि सके होलान् !’
ती कलेजका स्वर्णिम दिनहरू
त्यो काली केटीलाई लेखेको अधुरो प्रेमपत्र
नदीकिनारको पिकनिक र मध्यान्तरको अन्ताक्षरी
सपनाजस्तो बैंसमा मनै रुवाउने एकतर्फी प्रेम
पर्खालमा उभिएर गरेको जोसिलो भाषण
टेबुल ठटाएर गाएका केही आधुनिक गीत र अन्तिम बिदाइ !
बज्दाबज्दैको मीठो गीत दोह¥याउँदै सुनेजस्तो
हामी उल्टो घुमाउँछौं समयलाई
र फर्किन्छौं इतिहासका अनेक मोडमा
जब भन्छ मित्रले–
‘आफ्नो जीवन आफैंले बाँँच्नु त्यति त रहेछ ! अब त टुक्रेर......’
अचम्म त त्यसबेला हुन्छ र प्रिय पनि
जब भेटिन्छ भर्खर परिचय भएको कुनै नयाँ मित्र
बर्षौ पुरानो मित्रताको अनुहार लिएर–कुनै मोडमा !