Last modified on 10 मई 2020, at 11:05

पूर्व कथा / अभय श्रेष्ठ

तिम्रो बाटो बेग्लै होला
अनुहार बेग्लै होला
तिम्रो आस्थाको आकाशमा
उड्ने चराहरू पनि त बेग्लै होलान्
बाटो बेग्लै भए पनि
पुग्ने ठाउँ त तिम्रो मेरो उही न हो !

मेरो मन फूल होइन
मेरो मन ढुंगा पनि होइन
फूलकै फेरि हत्या हुँदा
मेरो मन तिम्रो रूपको गीत पनि त होइन
सायद यस अर्थमा
तिम्रो मन पनि त फूल होइन !

पानीको आफ्नै सतह हुन्छ
साउनको आफ्नै उन्माद हुन्छ
शिरको खोजीमा मानिसहरू हिँडिरहेका यस बेला
कतै पानी छैन/कुनै माछा छैन ।

घरमा चोरहरू लाग्लान्
भित्ताहरू फोडिएलान्
तर मलाई थाहा छ,
तिम्रो मन चोरले त के जासुुसले पनि चोर्न सक्दैन ।

आँसु र अट्टहासको गृहयुद्ध चलिरहेको बेला
आँधी र असन्तोषको ज्वालामुखी फुटिरहेको बेला
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहेछु एउटा अनवरत यात्रामा ।

हावाको विपरित दिशातिर
फ्याँकिएको काजगजस्तै
जब आउँछ
उडेर तिम्रो सम्झनाको तस्बिर बारम्बार
म भेट्छु तिमीलाई मेरै यात्रामा
उही यात्रामा त छौ तिमी पनि !
बाटो बेग्लै भए पनि
पुग्ने ठाउँ त तिम्रो मेरो उही न हो !