Last modified on 23 अगस्त 2020, at 21:26

पेट्रोमक्स बोक्ने कोराभासहरू / जम्बन अमरचिन्ता / सुमन पोखरेल

ती को हुन्. को हुन् ती?
कहाँ जान्छन् ती,
तिनीहरू?

हिँडिरहेछन् तिनीहरू
पुस्तौँ पुस्तादेखि
राँको बालेर आफ्ना टाउकामा
अपरिचित छन् तिनीहरू
तिनीहरूका लागि हैन
हैन तिनीहरूका लागि
बरू तिनका आफ्नै छायाहरूका लागि चाहिँ।
निपुण कविहरूले बिर्सिगएका
ती ग्रामिण छन्दहरू
को हुन् ती?

तिनका टउकामा पेट्रोमक्सको राप
पेटमा भोकको दुखाइको प्रहार
जीवनभर उमालिएका र जलाइएका
वाष्पीकृत भएर चिहानमा पुगेका
गर्भआमाबाट हरेक दिन
‘भोक’ नामको बालक जन्माइरहेका
को हुन् ती?

ती बाँच्नेहरू, ती लुट्नेहरू
र ती मतदातालाई झुक्याउनेहरू
चम्किला देखिन्छन्
ती प्रकाश बोक्नेहरूका उज्यालामा !

को हुन् ती, ती को हुन्?
नदेखिएका, अदृष्य धारकहरू
ती बिजुलीबत्ती बोक्नेहरू!

अँध्यारामा छेलिएर बस्दछन् ती
पेट्रोमक्सका छायामुन्तिर
अँध्याराको दलदलमा डुब्दै
बिस्तारै बिस्तारै
तल तल ।

को हुन् ती?
ती को हुन्?